नेकपा एमालेको युथ एसोसिएसन नेपालको अध्यक्ष रहिसकेका महेश बस्नेत युवामाझ लोकप्रियता र नेटवर्क बलियो रहेका पात्र हुन् । एमालेका युवा शक्ति र कार्यकर्ता तहमा गहिरो पहुँचमा रहेका बस्नेत पछिल्लो समय ओलीको छाँयाका रुपमा देखिन थालेका छन् । जेनजी विद्रोहपछि खस्किएको ओलीको लोकप्रियता उकास्ने बस्नेतको भिष्म प्रतिज्ञा लिए झै भएको छ । जस्को निम्ति बस्नेतले नेकपा एमालेका युवाहरुको साथ लिएका छन् । जेनजी विद्रोहलाई अनेक उपमा दिएर जनता भड्काउने अभिव्यक्ति दिन पनि पछाडि हटेका छैनन् ।
जेनजी विद्रोहपछि सेना ब्यारेकमा रहेका ओलीलाई गुन्डु पुर्याउने बस्नेत नै हुन् । घरविहिन भएका ओलीलाई आफ्नै छिमेकी बनाउन डेरा खोजिदिने समेत उनै हुन् । गुन्डुमा युवा भेला पारेर केपी शर्मा ओलीको मनोबल उकास्न सहयोग गर्ने बस्नेत नै हुन् । गुन्डुको सिमित आवाजलाई देशभर युुवाकै सहयोगमा विस्तार गर्न उनै बस्नेत तम्सिएका छन्।
पार्टी र पार्टी नेताको सुरक्षाका साथै देशमा सामाजिक सेवामा समर्पित रहने भन्दै उनै बस्नेतले आफ्नै जोडबलमा ‘युथ भोलिन्टियर फोर्स’ समेत गठन गरेका छन् । बस्नेतकै जोडबलमा नेकपा एमालेले मंसिर ६ गते बृहत कार्यकर्ता भेला समेत गर्यो। गुन्डुबाट बिस्तारै केपी ओली पनि उठ्न थालेका छन् । एमाले केन्द्रिय कार्यालय पुगेका छन् । भृकुटिमण्डपसम्म पुगेका छन् । जेनजी विद्रोहलाई अनेक उपमा दिन भ्याइसकेका छन् । जनता भड्काउने अभिव्यक्ति दिन सुरु गरेका छन् । आफैले सिफारिस गरेको शुशिला कार्कीलाई प्रधानमन्त्री नमान्ने सम्मको अभिव्यक्ति दिइसकेका छन् । जेनजी विद्रोहमा भएका बिद्यार्थीको हत्याको जिम्मेवारी नलिने घोषणा गरेका छन् । छानबिन आयोगलाई नमान्ने समेत भनिसकेका छन् । छानबिन आयोग जानुपरे अर्को विद्रोह गर्ने चेतावनी दिएका छन् । देशलाई शुन्यतामा फर्काउन चुनाव नगराउने बाटोतिर लागेका छन् । मानौ भदौ २३, २४ गते केहि भएको थिएन् ।
ओलीकै अभिव्यक्ति युवामाफ पुर्याउन महेश बस्नेत लागिपरेका छन् । कहिले पोखरा, कहिले बारा, कहिले सुन्सरी । बस्नेतको अभिव्यक्तिले देशले गृहयुद्ध कुरेको आभाष हुन्छ । जेनजीलाई बल प्रयोग समेत गरिसकेका छन् । त्यहि भाषण अनि जेनजीमाथिको बल प्रयोगको प्रतिकृया बारा घटना । उनको अभिव्यक्ति जनतामा अर्को भय सृजना भएको छ । देश अनिश्चिता, अध्यारो सुरुङमार्ग तर्फ जाने खतरा देखिएको छ । पछिल्लो विद्रोहलाई सम्मान नगरी दिइने अभिव्यक्तिले अर्को त्रास जनतामा देखिएको छ ।
एमाले नेता महेश बस्नेतको अर्को भेरियन्टका रुपमा सुदन गुरुङलाई हेरिन थालेका छ । जेनजीे बिद्रोहपछि एकाएक फ्रन्टमा आएका सुदन गुरुङको अभिव्यक्ति समेतले जनतामा त्रास उत्पन्न भएको छ ।आन्दोलनको स्वामित्व दाबी गरिरहेका सुदन गुरूङ अहिले पनि प्रधानमन्त्री निवास बालुवाटार सजिलै छिर्छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्ना कुरा राख्छन् र बाहिरन्छन्। तर बालुवाटारबाट बाहिरिँदा उनको अनुहारमा पहिलाजस्तो चमक देखिँदैन। बरु अध्याँरो अनुहारका साथ मुर्मुरिँदै बाहिरिन्छन्। यसको एक मात्र कारण हो, गुरूङ बालुवाटारमा पहिला जस्तो ‘स्पेस’ पाइरहेका छैनन्। अन्तरिम सरकार गठन प्रक्रियामा अग्रपंक्तिमा देखिएका गुरूङ अहिले प्रधानमन्त्री सुशीला कार्कीका लागि ‘टाउको दुखाइ’ बनिरहेका छन्।
प्रधामन्त्री कार्यालयकै एक अधिकारीका अनुसार, त उनी प्रधानमन्त्रीका लागि ‘निल्नु न ओकल्नु’ भइरहेका छन्। “पहिले प्रधानमन्त्री बालुवाटार भएको सुइँको पाउने बित्तिकै जतिबेलै आइहाल्थे। प्रधानमन्त्रीले राम्रै समय दिनुहुन्थ्यो। अहिले पनि साताको तीन दिन जति आउँछन्,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्य भन्छन्, “तर अहिले उनको कुरा सुन्न पनि दिक्दार मान्नुहुन्छ।”
कुनै समय ‘छोरा’को संज्ञा दिएकी सुदनलाई भेट्न अहिले किन कार्की सकस मान्छिन् त? प्रधानमन्त्रीको सचिवालयका ती सदस्यका अनुसार, सरकारमा अनावश्यक हस्तक्षेपका कारण सुदनसँग कार्की हैरान छिन्। सरकारी निकायहरूमा उनको अस्वभाविक उपस्थिति, सरकारी संयन्त्रहरूमा अनावश्यक हस्तक्षेप, जथाभाबी निर्देशन र दबाब दिने प्रवृत्तिका कारण कार्की दूरी बढाउन चाहन्छिन्। “जब सुदन आफै सरकारी निकाय धाएर कर्मचारीलाई थर्काइरहेको ब्रिफिङ भयो, प्रधानमन्त्री निराश हुनुभयो। आन्दोलनको नाममा अराजकता फैलिँदैछ भन्ने भयो,” सचिवालयका ती सदस्य भन्छन्, “सिधै बालुवाटार नै आएर यसो गरौँ त्यसो गरौँ भनेर आदेशात्मक शैली देखाउँछन्।”
भदौ २४ को विध्वंशात्मक आन्दोलनकै रातदेखि नेपाली सेनाको अग्रसरतामा अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको थियो। सेनाले जेन–जी आन्दोलनका अगुवालाई सैनिक मुख्यालय जंगीअड्डामा छलफलका लागि बोलाएको थियो। तर त्यस रात ठोस निर्णय हुन सकेन। भदौ २५ गते जेन–जीहरूको ठूलो समूहले प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारे पनि त्यो दिन अन्तरिम सरकार गठन हुन सकेन। भदौ २६ गतेदेखि त अनेक हल्ला फैलियो। सामाजिक सञ्जालमा कसैले राजसंस्था फर्काउने खेल हुँदैछ भने, कसैले सेनाले ‘कू’ गर्न लागेको हल्ला फैलाए। कसैले त विदेशीले कब्जा गर्ने अफवाह पनि फैलाए। प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्ति हुने समाचार आइरहे पनि राति ९ बजेसम्म नियुक्ति भएन।
त्यही बेला सुदन गुरूङ ‘हामी नेपाल’को पेजमा राखिएको एउटा भिडियोमा देखापरे। उनले राष्ट्रपति भवनमा कार्कीसँगै रहेका वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसँग सञ्जालमा फैलिरहेका हल्लाबारे सोधे, “अनि हल्ला त फेरि राजा ल्याउने छ रे। तपाईंहरू राष्ट्रपतिसँगै हुनुहुन्छ, यो विषयमा कतिको सत्यता छ?”अर्यालले त्यसमा कुनै सत्यता नभएको, बरू कार्की, राष्ट्रपति रामचन्द्र पौडेल र सेनापति अशोकराज सिग्देलबीच सकारात्मक संवाद चलिरहेको बताए। अनि सुदनले ‘ल ग्रेट, धन्यवाद’ भन्दै फोन राखे।यो संवादले सामाजिक सञ्जालको अनेक हल्ला मात्र चिरेन, राष्ट्रपति भवनबाटै ताजा सूचना दियो। अनि सुदनलाई त्यही सामाजिक सञ्जालले एकाएक जेन–जी आन्दोलनको ‘मसिहा’ बनाइदियो।
अहिले उनै गुरुङ्गको अभिव्यक्ति जनता भड्काउने छ । कानुन हातमा लिएर एमाले नेता किसान क्षेष्ठको घरमा पुगेर धम्काइरहेका छन् । सरकार जेनजीको भावना विपरित गएको भन्दै प्रधानमन्त्री शुशिला कार्कीको राजिनामा समेत माग्न थालेका छन् । प्रहरी प्रमुख आफुले भनेको प्रहरीलाई नबनाएपछि सामाजिक सञ्जालमा गृहमन्त्रिको राजिनामा माग गर्दै उनले अभियान चलाएका छन् । पछिल्लो समय चुनाव हुन नदिने भन्दै जनता भड्काउने अभिव्यक्ति दिइरहेका छन् । उनले अभिव्यक्तिले देश अनिश्चय, अन्धकारको सुरुङ्गमा फस्ने निश्चित छ । देशमा अर्को विद्रोह हुने निश्चित छ। समयमा यस्ता अभिव्यक्ति दिनेलाई सरकारले नियन्त्रण गरी चुनाव गराउने सहज वातावरण निर्माण गर्नुपर्छ ।