काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विधुतीय ट्रली बस सञ्चालन गर्ने योजना बनाएका छन् । एशियाली विकास बैंक (एडिबी)का प्रतिनिधिहरुसँगको छलफलमामा उनले योजना अघि बढाएका हुन्।
बुधबार एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग ‘दिगो शहरी विधुतीय परियोजना’का विषयमा जानकारी लिंदै मन्त्री घिसिङले ट्रली बस प्रणाली सञ्चालनमा आवश्यक सहयोग गर्न आग्रह गरे । भेटमा मन्त्री घिसिङले भने,‘काठमाडौंको चक्रपथ, काठमाडौं–धुलिखेल, पोखरा– मुग्लिङ, बुटवल–नारायणघाट, बुटवल–भैरहवा, विराटनगर–धरानलगायतका सडक विस्तार भइरहेका छन्, उक्त सडकका एक लेन ट्रली बसका लागि प्रयोग गर्न सकिन्छ, उत्पादित विधुतको आन्तरिक खपत बढाउन पनि ट्रलीजस्ता विधुतीय सवारी साधनलाई प्रयोगमा ल्याउनु पर्छ, ट्रली सञ्चालनको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहयोग गर्नुहोला ।’
‘दिगो शहरी विधुतीय परियोजना’ अन्तर्गत एडिबीले काठमाडौंलगायत केहि क्षेत्रमा सार्वजनिक यातायात सुधारका लागि २५० वटा विधुतीय सवारी साधन सञ्चालनमा ल्याउनेछ । सवारी साधनका लागि चार्जिङ स्टेसन, मर्मत सम्भार तथा सञ्चालन पूर्वाधार, बसस्टपसम्म पुग्न साइकल जग्गा गैह्रमोटर सुविधलगायत निर्माण हुनेछ । परियोजनाको हाल सम्भाव्यता अध्ययन भइरहेको छ।
परियोजनाको अनुमानित लागत १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ५६ करोड रुपैयाँ) रहेको छ। यसमध्ये १० करोड रुपैयाँ एडिबीले सहुलितपूर्ण र ४ करोड शून्य व्याजदरको कर्जा रहेको छ । बाँकी रकम सरकारले बेहोर्नु पर्ने छ ।