बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बैंकमा ११ खर्ब थुप्रिएको भन्दै लगानीकाे वातावरण तयार गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह

मंगलबार, मंसिर २ २०८२

काठमाडौँ  । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा ११ खर्बभन्दा बढी रकम निष्क्रिय भएर बसेको भन्दै लगानी अनुकूल वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले उपलब्ध पूँजी अर्थतन्त्र चलायमान बनाउन प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष ढकालले बैंकमा प्रशस्त रकम थुप्रिएको भए पनि कतिपय आयोजना लगानी अभावका कारण बेवारिसे अवस्थामा रहेको उल्लेख गर्दै यस्तो परिस्थितिले आयोजनाको लागत बढ्ने र अर्थतन्त्रमा दबाब सिर्जना हुने बताए। “अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउनैपर्छ, त्यसका लागि सरकार र सम्बद्ध निकायले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ,” उनले भने।

उनका अनुसार नियमनकारी निकायको कमजोर कार्यक्षमताले समेत आर्थिक गतिविधिमा अवरोध पुर्‍याइरहेको छ। धितोपत्र बोर्डमा लामो समय पदाधिकारी नहुँदा काम प्रभावित भएको र पदाधिकारी आएपछि पनि प्रभावकारी कार्यशैली नदेखिएको भन्दै उनले यसले पूँजी बजारमै नकारात्मक असर पारिरहेको बताए। जलविद्युत् आयोजनालाई आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डले रोकिरहेको प्रकरणप्रति असन्तुष्टि जनाउँदै उनले तत्काल सुधारको माग गरे।

जेनजी आन्दोलनबारे बोल्दै अध्यक्ष ढकालले आन्दोलनको उद्देश्य पवित्र भए पनि त्यसमा गलत तत्व घुसेर तोडफोड, आगजनी र लुटपाट गरेको आरोप लगाए। त्रुटि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। “निजी क्षेत्रको सम्पत्तिको सुरक्षा राज्यले सुनिश्चित गर्न सकेन भने लगानीकर्ताको मनोबल गिर्यो भने नयाँ लगानी आकर्षित गर्नै कठिन हुन्छ,” उनले चेतावनी दिए।