काठमाडौं । मजदुर युनियनसँग भएको सहमतिविपरीत हायात होटलले कर्मचारी हटाएको छ । पाँचतारे होटल तारागाउँ रिजेन्सी (हायात)ले सहमतिविपरीत एक सय ३३ जना कर्मचारी हटाएको हो ।
जेन–जी आन्दोलनमा तोडफोड र आगजनीपछि होटल बन्द अवस्थामा थियो । होटलले आगामी एक वर्ष मर्मतका लागि सञ्चालन नगर्ने र सो अवधिसम्म मासिक १२ हजार एक सय ७० रुपैयाँ दिने कर्मचारी युनियनसँग भएको सहमतिविपरीत कर्मचारी निकालेको बताएको छ ।
होटल हाल एक सय ४७ स्थायी र करिब दुर्ई सय करारका कर्मचारी रहेकामा स्थायी कर्मचारीमध्ये एक सय ३३ जनालाई कटौती गर्न सूचना जारी गरेको हो । श्रम ऐन २०७४ को दफा १४५ बमोजिम होटलका एक सय ३३ जना कर्मचारीलाई आगामी मंसिर २२ गतेदेखि लागू हुने गरी कटौती गरिएको होटलका महाप्रबन्धक आशिष कुमारद्वारा जारी सूचनामा उल्लेख छ । होटलमा नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ रहेका छन् ।
व्यक्तिगतरुपमा गरेको अन्यायविरुद्ध मजदुर युनियनतर्फबाट पाँचजना कर्मचारीले विभिन्न समयमा मुद्दा हालेका छन् ।