सिड्नी । अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्ने सहमति जनाएका छन्। सन्धिमा दुवै देशबीच सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ। सिड्नीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुवै देशका नेताहरूले संयुक्त रूपमा यो जानकारी सार्वजनिक गरेका हुन्।
अस्ट्रेलियाले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्न आफ्ना रक्षा क्षमताहरू विस्तार गर्दै आएको छ भने इन्डोनेसियाले बेइजिङसँग सन्तुलित सम्बन्ध कायम गर्न अपेक्षाकृत तटस्थ नीति अपनाउँदै आएको छ।
सिड्नीको रोयल अस्ट्रेलियन नेभी बेसमा आयोजित पत्रकार सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने, “हाम्रो साझा सुरक्षालाई बलियो पार्ने उद्देश्यसहित नयाँ द्विपक्षीय सन्धिमा पर्याप्त प्रगति भएको छ। यो सन्धि शान्ति र स्थिरता सुनिश्चित गर्ने उत्तम उपाय हो र हाम्रो विश्वासको प्रतीक हो।”
प्रधानमन्त्री अल्बानिजले आगामी वर्ष इन्डोनेसियाको भ्रमण गरी औपचारिक रूपमा सन्धि हस्ताक्षर गर्ने आशा व्यक्त गरे। उनले यो सम्झौता सन् २०२४ को द्विपक्षीय रक्षा सम्झौतामा आधारित रहेको र यसले एसिया–प्रशान्त क्षेत्रमा दुवै देशबीच सहकार्य अझ गहिरो बनाउने बताए।
सन्धिअनुसार, अस्ट्रेलिया र इन्डोनेसियाले सुरक्षा मामिलामा नियमित रूपमा प्रधानमन्त्री तथा मन्त्रिस्तरीय परामर्श गर्नेछन्। साथै, कुनै एक वा दुवै देशको सुरक्षा जोखिममा परेको अवस्थामा व्यक्तिगत वा संयुक्त रूपमा अपनाउन सकिने उपायहरूबारे छलफल र समन्वय गर्न यसले अवसर प्रदान गर्नेछ।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले भने, “हामी छिमेकीहरू छनोट गर्न सक्दैनौँ, तर असल छिमेकीहरूले कठिन समयमा एकअर्काको साथ दिनुपर्छ। यही भावना यस सन्धिको मूलमा निहित छ।”
दुवै मुलुकका नेताहरूले नयाँ सुरक्षा सन्धि साझा हित र क्षेत्रीय स्थिरताको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरेका छन्।
-एजेन्सी