काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सो मूल्य तय गरेको हो।
यसअघि आइतबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला पाँच दिनदेखि सुनको भाउ निरन्तर उकालो लागेको छ। कात्तिक १९ गते सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ थियो, त्यसयता मूल्य ४ हजार ३ सय रुपैयाँले बढेको देखिएको छ। असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो जुन हालसम्मकै उच्च मूल्य हो।
सोमबार चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३,०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँले बढेर ३,०६५ रुपैयाँ पुगेको छ। यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३,३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ।