नयाँ मन्त्री बिच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन
जनकपुरधाम । मधेस प्रदेशमा अप्रत्याशित राजनीतिक घटनाक्रममा नेकपा (एमाले) का सांसद सरोजकुमार यादव नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।
सोमबार बिहान करिब चार बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
उक्त निर्णय प्रदेश प्रमुखले जनकपुर नपुगी महोत्तरी र सिन्धुलीको सीमामा रहेको ‘पानस कटेज’ नामक स्थानमा बसेर गरेकाे बताइएको छ। त्यसअघि उनले तत्कालीन कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफू दमको समस्या भएकी र काठमाडौंतर्फ जाँदै गरेको जानकारी गराएकी थिइन्।
एमालेले यस कदमलाई “रणनीतिक गेम” भन्दै स्वागत गरेको छ । जसमा नेपाल समाजवाद पार्टीका रिजवान अन्सारी र राप्रपाको पनि साथ रहेको बताइएको छ। समाजवादी पार्टीबाट विमला अन्सारी, राप्रपाबाट कञ्चन बिच्छा र एमालेबाट लखन दासलाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ।
यसअघि सात दलहरूले मुख्यमन्त्री सोनलको राजीनामा पछि संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए। उनीहरूले १६८(३) लागू नहुने दाबी गरेका थिए, तर एमालेले आफ्नो हैसियतका आधारमा सरकार गठन गरेको घोषणा गरेको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता नभए कारवाहीको चेतावनी दिएका छन् ।
अध्यक्ष लिङ्देनले यो प्रकरणलाई गम्भीररुपमा लिएको जनाएका छन् ।
उनको वक्तव्यमा भनिएको छ, ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
उनले फेसबुकमा पनि यसबारे लेख्दै निर्देशन पालना नगरे कारबाहीको चेतावनी दिएका छन् ।
‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो,’ लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु ।’