काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई २ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि पनि प्रतितोला ६ सय रुपैयाँले बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिले नेपाली बजारमा सीधा प्रभाव पारेको महासंघले जनाएको छ ।
यसअघि असोज ३१ गते सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड तोड्दै प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३ हजार २० रुपैयाँमा पुगेको छ । असोज ३१ गते चाँदीले प्रतितोला ३ हजार ३५० रुपैयाँको उच्च रेकर्ड कायम गरेको थियो ।