बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्र बैंकद्धारा लुम्बिनी र सप्तकोशी बिकास बैंकलाई कारवाही

बिहिबार, कार्तिक १३ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा बिकास बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमास अवधिमा इजाजतपत्रप्राप्त “ख” बर्गका विकास बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागबाट कारवाही गरिएको हो । कारवाहीमा पर्नेमा राष्ट्रियस्तरको लुम्बिनी बिकास बैंक र क्षेत्रियस्तरको सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

राष्ट्र बैंकका अनुसार कारवाही स्वरुप लुम्बिनी विकास बैंकको सञ्चालक समितिलाई सचेत गराईएको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण पश्चात तयार गरेको प्रतिवेदनमा संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गर्दाको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समयपश्चात नै वृद्धि गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ७ मा भएको व्यवस्था उल्लङ्घन गरेको पाइएकाले संस्थाको तत्कालीन संचालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकको भनाई छ ।

यसैगरी सप्तकोशी डेभलपमेण्ट बैंकलाई भने कारवाही स्वरुप नगद जरिवाना तिराईएको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण पश्चात तयार गरिएको प्रतिवेदन मार्फत थप गरिएको कर्जा नोक्सानी व्यवस्था समायोजन गर्दा २०८१ असार मसान्तमा संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेको १० प्रतिशतको न्यूनतम पुँजीकोष अनुपातमा ४२ दशमलव सात प्रतिशतले नपुग रहेको पाइएको तथा २०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरण अनुसार न्यूनतम पुँजीकोष अनुपात सात दशमलव ५१ प्रतिशत रहेको जुन यस बैंकले तोेकेको न्युतम पुँजीकोष अनुपातमा २४ दशमलव नौं प्रतिशतले न्यून रहको हुँदा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड “क” मा रहेको व्यवस्था बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको हो । कारवाहीस्वरुप राष्ट्र बैंकले सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेललाई नसिहत दिएको छ । राष्ट्र बैंकले तयार गरेको स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा संस्थाले प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जाहरु आवश्यक कागजात नलिई संस्थाको कोर बैंकिङ्ग प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्था सम्बन्धी विवरण यथार्थपरक नभएको तथा यस बैंकमा गरेको रिपोर्टिङ्ग विस्वसनीय नभएको र यस बैंकबाट दिइएका निर्देशनहरु पालना नगरेको पाइएकाले संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (क) बमोजिम नसिहत दिइएको राष्ट्र बैंकको भनाई छ ।

कारवाही कै क्रममा राष्ट्र बैंकले सप्तकोशी डेभलपमेण्ट बैंकको संचालक समितिलाई नगद जरिबाना पनि तिराएको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा पाइएका कैफियतहरु सुधार गर्ने जिम्मेबारी संस्थाको संचालक समितिमा रहने हुँदा प्रतिवेदनमा उल्लेखित कैफियत÷गल्ती तथा अवस्था पुन दोहोरिन नदिन र प्रमुख कार्यकारी अधिकृतबाट भएको कैफियतहरु सुधारको लागि जिम्मेवार रहन संस्थाको संचालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (ग) बमोजिम लिखित आदेश जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।