बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन : अध्यक्ष ढकाल

आइतबार, कार्तिक ९ २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा असीमित सम्भावना र अवसरहरू रहेको बताएका छन्। अमेरिकाको टेक्ससमा शनिबार आयोजित ‘हिमालयन कन्क्लेभ’मा सम्बोधन गर्दै उनले नेपालमा जस्तो अवसर अरू कतै देख्न नसकेको धारणा व्यक्त गरे ।

अध्यक्ष ढकालले भने, “नेपालमा सम्भावना छैन, पुँजी कमजोर छ, व्यवसायिक वातावरण छैन भन्ने कुरा मात्र सुनिन्छ । तर मेरो दृष्टिमा नेपालमा जस्तो अवसर र सम्भावना संसारका अन्य मुलुकमा देखिँदैन ।”

उनले नेपालका धेरै क्षेत्रहरू अझै अन्वेषण (एक्स्प्लोर) हुन बाँकी रहेको उल्लेख गर्दै थप गरे, “हामीले अझै धेरै क्षेत्रमा काम सुरु गर्न बाँकी छ । जति गहिरो खोजिन्छ, त्यति नै नयाँ अवसर भेटिन्छ । त्यसैले प्रयास नगरी सम्भावना छैन भन्नु गलत हो ।”

नेपालमा लगानीका लागि अनुकूल वातावरण नभएको भन्ने धारणा गलत भएको बताउँदै अध्यक्ष ढकालले अमेरिकामा रहेका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघको पहलमा हालसम्म लगानीमैत्री वातावरण बनाउन कम्तीमा ३० वटा कानुन संशोधन भइसकेका छन् । साथै, सरकारका तर्फबाट गठित अर्थतन्त्र सुधार उच्चस्तरीय आयोगका सुझावहरूको कार्यान्वयन पनि सुरु भइसकेको बताए ।

उनले हालै स्वदेशी व्यवसायी तथा गैरआवासी नेपालीहरूको सहकार्यमा १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ स्थापना गरी काम सुरु गरिएको जानकारी दिए । यस कदमले देशभित्रकै पुँजी परिचालन गरेर ठूला लगानी सम्भव छ भन्ने सन्देश दिएको उनको भनाइ छ ।

वैदेशिक लगानी प्रवर्द्धनका लागि महासंघले ‘एफडिआइ हेल्प डेस्क’ स्थापना गरेको जानकारी दिँदै उहाँले लगानीका क्रममा देखिएका चुनौती समाधानका लागि महासंघ प्रतिबद्ध रहेको बताए ।

हालै निजी क्षेत्रका प्रतिष्ठानहरूमा भएका आक्रमणबारे प्रश्न उठ्दा अध्यक्ष ढकालले त्यसलाई “एकदमै गलत र हतोत्साही बनाउने कार्य” बताए । उनले भने, “निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गरेको छ । यस्तो क्षेत्रमा आक्रमण हुनु गलत सन्देश हो ।”

उनले निजी क्षेत्र नै मुलुकको आर्थिक विकासको मुख्य इञ्जिन भएको बताउँदै व्यवसायीहरूप्रतिको नकारात्मक मानसिकता परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । “व्यवसायी भनेको नाफा कमाउने मात्र हुन् भन्ने गलत धारणा त्याग्नुपर्छ । यदि सोचमा परिवर्तन गर्न सकेनौं भने आगामी दिनमा यस्ता दुर्घटनाहरू दोहोरिन सक्ने खतरा रहन्छ,” उनले चेतावनी दिए ।