बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

२८ खर्ब ८१ अर्ब रुपैंयाँ बराबरको बिदेशी मुद्रा सञ्चिती

बुधबार, असोज २९ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको दुई महिनाको प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति सात दशमलव छ प्रतिशतले बढेर २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा चार दशमलव सात प्रतिशतले बढेर २० अर्ब ४१ करोड पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा छ दशमलव नौं प्रतिशतले बढेर २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३ दशमलव सात प्रतिशतले बढेर दुई खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९ महिना सात दिनको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७ दशमलव दुई प्रतिशत, एक सय ३३ दशमलव एक प्रतिशत र ३६ दशमलव छ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेका थिए ।