बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रेमिट्यान्स बढ्यो, दुई महिनामा भित्रियो तीन खर्ब ५२ अर्ब

बुधबार, असोज २९ २०८२

काठमाडौं । रेमिट्यान्स रकम बढेको छ । राष्ट्र बैंकका अनुसार नेपालले चालु आर्थिक बर्षको पछिल्लो दुई महिनामा तीन खर्ब ५२ अर्ब रुपैंयाँ रेमिट्यान्स भित्र्याएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको दुई महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२÷८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले बढेर तीन खर्ब ५२ अर्ब ८ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब २७ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले वृद्धि भई दुई अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार एक सय ९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार आठ सय ८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार चार सय ८५ र ४० हजार पाँच सय ८३ रहेको छ।