काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो दुई महिनामा झण्डै ४७ अर्ब रुपैंयाँ बराबरको सामान बिदेश निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८२÷८३ को दुई महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार यस अवधिमा कुल वस्तु निर्यात ८८ दशमलव छ प्रतिशतले बढेर ४७ अर्ब ३२ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा पाँच दशमलव एक प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय ३९ दशमलव नौं प्रतिशत र शुन्य दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८ दशमलव पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु आयात १६ दशमलव दुई प्रतिशतले वृद्धि भई तीन खर्ब पाँच अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक दशमलव एक प्रतिशतले वृद्धि भएकोे थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः आठ प्रतिशत, २५ दशमलव एक प्रतिशत र ३३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, हवाइजहाज स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, तयारी पोसाक, तेलहन, लसुनलगायतका वस्तुको आयात घटेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु व्यापार घाटा आठ दशमलव छ प्रतिशतले वृद्धि भई दुई खर्ब ५७ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा एक दशमलव आठ प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १५ दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौं दशमलव छ प्रतिशत रहेको थियो । ज्ञघ। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २७ अर्ब ७५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.२९ अर्ब ९३ करोड बराबरको भएको थियो ।