बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इजरायल–हमासबीच अमेरिकी शान्ति योजनामा हस्ताक्षर भएकाे ट्रम्पले दिए जानकारी

'सबै बन्धकहरू चाँडै रिहा गरिने'

बिहिबार, असोज २३ २०८२

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इजरायल र हमास दुबैले अमेरिकाद्वारा प्रस्तावित गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेकाे घोषणा गरेका छन्  ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल (Truth Social) खातामा लेख्दै भनेका छन्,“यसको अर्थ सबै बन्धकहरू चाँडै रिहा गरिनेछन्, र इजरायलले आफ्नो सेना तोकिएको सीमासम्म फिर्ता बोलाउनेछ। यो एक बलियो, स्थिर र दीर्घकालीन शान्तिको दिशामा पहिलो कदम हुनेछ। सबै पक्षहरूसँग निष्पक्ष व्यवहार गरिनेछ।”

राष्ट्रपति ट्रम्पले यो सम्झौतोलाई “अरब र मुस्लिम विश्व, इजरायलका छिमेकी राष्ट्रहरू तथा अमेरिकाका लागि एक ऐतिहासिक दिन” भएको बताउँदै, यसमा मध्यस्थताको भूमिका खेलेका कतार, इजिप्ट र टर्कीप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्।

शान्ति योजनाको पहिलो चरणमा बन्धकहरूको सुरक्षित रिहाइ, मानवीय सहायता पहुँच सुनिश्चितता, र गाजामा स्थायी युद्धविरामतर्फको राजनीतिक सहमति कार्यान्वयनका प्रारम्भिक प्रावधानहरू समावेश रहेको बताइएको छ।