खोटाङ। खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियार सोमबार सामूहिक बलात्कारपछि हत्या भएकी छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङले घटनामा संलग्न एकजना अभियुक्त पक्राउ गरिएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको छ।
हत्यामा संलग्न छिमेकी दिपक सार्कीलाई पक्राउ गरिएको छ। उनले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नाम समेत खुलाएका छन्। बाँकी अभियुक्त खोजीका लागि थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टम गरिएको थियो र बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ।
डीएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ। उनले खोटाङमा अपराधीलाई कारबाही नगरेसम्म प्रहरीको विशेष अपरेशन जारी रहने बताए।