काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत ७५ औं जन्मदिनको शुभकामना दिएका छन् । यस क्रममा दुवै नेताबीच रुस-युक्रेन युद्धको शान्तिपूर्ण समाधानबारे समेत छलफल भएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्, ‘मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । उनी उत्कृष्ट काम गरिरहेका छन् । नरेन्द्र, रुस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको सहयोगको लागि धन्यवाद ।’
त्यसैगरी, प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘मेरो साथी राष्ट्रपति ट्रम्प, तपाईंको फोनकलको लागि धन्यवाद र मेरो ७५ औं जन्मदिनको शुभकामना । तपाईंजस्तै, म पनि भारत–अमेरिकाको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छु । हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंको प्रयासलाई समर्थन गर्छौं ।’
आज (सेप्टेम्बर १७) प्रधानमन्त्री मोदीको ७५ औं जन्मदिन हो । अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको ४० दिनपछि मोदी र ट्रम्पबीच पहिलो पटक प्रत्यक्ष संवाद भएको हो ।
यसअघि, मोदीले अन्तिमपटक जुन १७ मा ट्रम्पसँग झण्डै ३५ मिनेट फोनवार्ता गरेका थिए ।