काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका तर हाल बाहिर निस्किएका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू कुनै पनि समयमा कारागार फर्कन तयार रहेको बताएका छन्।
कारागार प्रशासन स्रोतका अनुसार, रायमाझीले टेलिफोन सम्पर्कमार्फत् यस्तो इच्छा जनाएका थिए। तर, कारागार प्रशासनले उनलाई तत्काल फर्किन नहुने जानकारी दिएको छ।
रायमाझी यसअघि सुन्धारास्थित केन्द्रीय कारागारमा थिए। उक्त कारागारमा करिब ३८ सय कैदीबन्दी रहेका थिए, जसमा हालै करिब ३३ सय जति फरार भएका थिए।
सुन काण्डका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका थिए।
कारागार प्रशासनले फरार कैदीको खोजीलाई तीव्र बनाउँदै सुरक्षा व्यवस्थामा सतर्कता बढाएको छ।