शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

बिहिबार, भाद्र १९ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियाञ्जिन प्रस्थान गर्नुभएको थियो। उहाँले शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी भई विभिन्न मुलुकका राष्ट्र–सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, मुख्यसचिव एकनारायण अर्याललगायत उच्चपदस्थ अधिकारीहरूले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न मुलुकका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। उनले भदौ १६ गते तियाञ्जिनमा आयोजित एससिओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपालको बहुपक्षीय प्रतिबद्धता तथा पूर्ण सदस्यता आकाङ्क्षा प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि बेइजिङमा आयोजित चीनको ८०औँ वार्षिकोत्सव तथा विशेष सैनिक परेडमा पनि सहभागिता जनाएका थिए।

नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदारको रूपमा आवद्ध छ। हाल सो संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस सदस्य छन् भने अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन्। नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार मुलुक हुन्।

प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमण टोलीमा सहभागी थिए ।