मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

रौतहटमा ६ बाेरा चिनी गायब, सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए

१६ जना अधिकारीलाई जिम्मेवारीबाट हटायो

मंगलबार, भाद्र १७ २०८२

काठमाडौं । रौतहटमा ६ बाेरा चिनी हराएको उजुरीपछि सशस्त्र प्रहरी मुख्यालयले त्यहाँका गणपति (एसपी) सन्तोष कुमार बस्नेतलाई कमाण्डबाट फिर्ता गरी हेडक्वार्टरमा तानेको छ। साथै, डिएसपी र इन्स्पेक्टरसहित अन्य अधिकारीलाई पनि चेतावनी तथा सरुवा गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

सशस्त्र प्रहरीको सूचना शाखाले दिएको जानकारीअनुसार राजस्व संकलन र कार्यसम्पादनमा कमजोरी देखिएपछि एकै पटक १ एसपी, १ डिएसपी, ७ इन्स्पेक्टर, ६ सई र १ असई गरी १६ जना अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो।

नं. ११ गण रौतहटको कमाण्डरमा अब सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ।

यसैगरी, बारा, पर्सा, पश्चिम नवलपरासी, कैलाली र कञ्चनपुरका विभिन्न बोर्डर आउट पोष्ट (बिओपी) तथा फरवार्ड सुरक्षा वेशमा कार्यरत अधिकृतहरूलाई पनि जिम्मेवारीबाट हटाइएको मुख्यालयले जनाएको छ।

बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बिओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदार बहादुर परियार, फरवार्ड सुरक्षा वेश बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरि प्रसाद लम्साल, फरवार्ड सुरक्षा वेश छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो ।

यस्तै पर्सा जिल्लास्थित बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानीया क्षेत्री, बिओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा वेश बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भिम बहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेश जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कु प्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सीमा क्षेत्रमा खटिएका कमाण्डरहरूको गतिविधि मुख्यालयबाट सूक्ष्मरूपमा निगरानी भइरहेको छ। असन्तोषजनक कार्यसम्पादन गर्ने गणपति लगायतका अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा परेको उनले जानकारी दिए। मुख्यालयले अन्य प्रदेशका गण, गुल्म र बिओपी कमाण्डमा रहेका अधिकारीमाथि पनि निगरानी बढाएको छ।