काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच आज भेटवार्ता भएको छ।
भेटमा नेपाल–कतारबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन र आपसी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको अध्यक्ष ढकालको सचिवालयले जानकारी दिएको छ।
सो अवसरमा दुबै पक्षबीच नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक काठमाडौँमा चाँडै आयोजना गर्ने सहमति बनेको अध्यक्ष ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालले जेबीसी स्थापना प्रक्रियामा कतारले देखाएको सहयोगको प्रशंसा गर्दै नेपालमा ऊर्जा, पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै कतारी लगानीकर्तालाई नेपालमा आकर्षित हुन आग्रह गरे।
त्यस अवसरमा कतार चेम्बरका अध्यक्ष अल थानीले संयुक्त व्यापार परिषद् (जेबीसी) लाई शीघ्र अन्तिम रूप दिई अझ प्रभावकारी बनाइने आश्वासन दिए।