मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सुटकेसभित्र फेला परेको युवतीको शवको पहिचान खुल्यो

आइतबार, भाद्र ८ २०८२

रौतहट । रौतहट सदरमुकाम गौरमा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको पहिचान भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक माधव नारायण नगरपालिका–२ महादेवपट्टीकी २६ वर्षीया रुवीकुमारी साह हुन्। डीएसपी राजु कार्कीले अनुसन्धानका क्रममा शवको सनाखत भएको पुष्टि गरेका छन्।

गत राति गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडकखण्डको दिव्यज्योति स्कुल नजिक स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुटकेसभित्र युवतीको शव भेटिएपछि प्रहरीद्वारा थप अनुसन्धान अघि बढाइएको छ।

घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ। ‘तर, हत्या कसले र किन गर्‍याे खुलिसकेको छैन,’ डीएसपी कार्कीले भने।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन्। उनी अहिले माइती घरमै बस्दै आएकी थिइन्। रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ। पतिसँगको उनको सम्बन्धको विषयमा हालसम्म केही खुलेको छैन।

स्कुल नजिकै शंकास्पद सुटकेस फेला परेको भनेर शनिबार राति नौ बजेतिर स्थानीयले प्रहरीलाई  खबर गरेका थिए।