रौतहट । रौतहटको गौर नगरपालिका–९ अन्तर्गत गौर–सिर्सिया सडक खण्डको मुडवालवा मोड नजिक सुटकेशभित्र एक महिलाको शव फेला परेको छ।
शनिबार राति करिब ८ बजेतिर सडक किनारमा डोरीले बेरिएको अवस्थामा बेवारिस झैँ देखिएको सुटकेशबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेपछि रातभर निगरानीमा राखिएको थियो।
आइतबार बिहान सुटकेश खोल्दा करिब ३५ वर्षकी विवाहित महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। महिलाले गुलाबी रंगको कुर्ता–सुरुवाल लगाएकी थिइन्।
शवमा टाउकोमा गहिरो चोटको निशान देखिएको छ। साथै, सुटकेशभित्र केही कागजात र सुरुवालको खल्तीमा नगद रकम पनि फेला परेको प्रहरीले जनाएको छ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको नायव प्रहरी उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता कार्कीले सुटकेश भित्र रहेको महिलाको नाकबाट रगत आएको र घाँटीमा डाम रहेको र शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए ।
प्रारम्भिक रुपमै महिलाको हत्या गरेर शव लुकाउन सुटकेसमा हालिएको देखिन्छ, उनले भने ।
शवको सनाखत भने अहिलेसम्म हुन सकेको छैन। प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालिसकेको बताएको छ। साथै, शवको विवरण बारे पोस्टमार्टम प्रतिवेदनपछि थप जानकारी आउने प्रहरीले जनाएको छ।
अज्ञात व्यक्तिद्वारा गरिएको यो कार्य योजनाबद्ध आपराधिक गतिविधि हुनसक्ने भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ ।