नेपालका करिब ७ हजार आप्रवासी प्रत्यक्ष प्रभावित
काठमाडौं । अमेरिकाको सान फ्रान्सिस्कोस्थित अदालतले नेपालीसहितका आप्रवासीलाई दिइँदै आएको अस्थायी सुरक्षा स्थिति (TPS) खारेज गरेको छ। यस निर्णयसँगै नेपालका करिब ७ हजार आप्रवासी प्रत्यक्ष प्रभावित हुने भएका छन्।
नेपाली नागरिकलाई प्रदान गरिएको टीपीएस यही अगस्ट ५ मा सकिएको हो। यस्तै, होन्डुरसका करिब ५२ हजार र निकारागुआका करिब ४ हजार आप्रवासीको स्थिति पनि चाँडै सकिँदैछ।
ट्रम्प प्रशासनले टीपीएसलाई केवल अस्थायी व्यवस्था भन्दै अन्त्य गर्ने प्रयास गर्दै आएको थियो, तर आप्रवासी अधिकार समूहहरूले यसको निरन्तरताका लागि संघर्ष गरिरहेका छन्।
के हो टीपीएस ?
अस्थायी सुरक्षा स्थिति (TPS) भनेको अमेरिकाले केही मुलुकका नागरिकलाई असुरक्षित परिस्थितिमा दिएको अस्थायी कानुनी हैसियत हो।
टीपीएस अन्तर्गत व्यक्तिहरूले अमेरिकामा बस्न र काम गर्न पाउँछन्।
यसले ग्रीनकार्ड वा स्थायी बसोबास दिने अधिकार भने दिँदैन।
प्राकृतिक विपत्ति, युद्ध वा राजनीतिक अस्थिरताका कारण आफ्नै मुलुक फर्किन नसक्ने अवस्थामा अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले टीपीएस दिन्छ।
नेपालका नागरिकलाई सन् २०१५ को विनाशकारी भूकम्पपछि टीपीएस प्रदान गरिएको थियो। होन्डुरस, निकारागुआ, हैटी, अफगानिस्तानलगायतका अन्य मुलुकका नागरिकले पनि यसै माध्यमबाट लाभ उठाउँदै आएका छन्।