बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दीपक थापाको अवकाशपछि खापुङ आईजीपी बन्ने लगभग पक्का

बुधबार, भाद्र ४ २०८२

काठमाडौँ । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ गते अनिवार्य अवकाशमा जान लागेका छन्।

प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि उनी अवकाशमा जाँदैछन्। थापाको अवकाशसँगै ७० हजारभन्दा बढी जनशक्ति भएको प्रहरी संगठनको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने चासो सर्वत्र छ।

थापासँगै आफ्नो ब्याचको एकल दाबेदार अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ आगामी ३२ औँ आईजीपी बन्ने लगभग पक्का देखिन्छ। खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) निर्देशकको जिम्मेवारीमा कार्यरत छन्। उनी इन्स्पेक्टरमा नियुक्ति भएका आफ्नो ब्याचका सबै सहकर्मी अवकाश पुगेका छन्, जसले उनको दाबेदारी अझ बलियो बनाएको छ।

थापासँगै उनका ब्याची एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि अनिवार्य अवकाशमा जान लागेका छन्। अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल ५६ वर्षे उमेर हदका कारण भदौ १५ मा अवकाशमा जान्छन्। यदि खापुङ आईजीपी बने, उनी मात्र दुई महिना ९ दिन सेवा गर्दै प्रहरी नेतृत्व गर्नेछन्, जुन संगठनको इतिहासमै दोस्रो सबैभन्दा छोटो अवधि हुनेछ।

खापुङले प्रहरी करियरमा अहिलेसम्म कुनै बदनामी कमाएका छैनन्। डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका उनले एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी पूरा गरेका थिए।

नयाँ प्रहरी ऐन अझै पास नहुँदा खापुङलाई फाइदा पुगेको छ। प्रहरी नियमावली, २०७१ अनुसार आईजीपीको बढुवामा एआईजीहरूमध्येबाट योग्य उम्मेदवार चयन गर्ने व्यवस्था छ। यस आधारमा दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह पनि प्रतिस्पर्धामा छन्। तर खापुङको अनुभव, प्रशासनिक क्षमता र राजनीतिक निकटता उनलाई प्रमुख दाबेदार बनाएको मुख्यालयका अधिकारीहरूले बताएका छन्।