काठमाडौं । नेपालले भारतसँग थप २०० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार हरियाणा राज्यलाई विद्युत् बिक्री गर्न स्वीकृति प्राप्त भइसकेको छ।
यससँगै नेपालबाट निर्यात हुने कुल क्षमता १,१४०.७ मेगावाट पुगेको छ, जसमा ४३५.२ मेगावाट हरियाणालाई मात्र आपूर्ति हुनेछ। नेपाल विद्युत् प्राधिकरणले यो आपूर्ति देशभरका ३४ जलविद्युत् आयोजनाबाट गर्ने बताएको छ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालले करिब १७ अर्ब ४६ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। भारतमा करिब १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको बिजुली बिक्री भएको छ। यो व्यापारबाट करिब साढे चार अर्ब रुपैयाँ नाफा भएको छ, जसमा निर्यात आयातभन्दा धेरै भएको प्रमुख कारण हो।
हाल नेपाल भारतका विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् पठाइरहेको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन र भारत–बंगलादेश सीमाको बेहरामपुर–भेडामारा लाइनमार्फत आपूर्ति भइरहेको छ।
बंगलादेशलाई ४० मेगावाट विद्युत् प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिक्री भइरहेको छ, जुन पहिलो पटक डलरमा गरिएको व्यावसायिक निर्यात हो। यो आपूर्ति भारतको एनटीपीसी विद्युत् व्यापार निगममार्फत हुँदै आएको छ।
मन्त्री खड्काले यसलाई ऊर्जा निर्यात विस्तारको महत्वपूर्ण उपलब्धि भन्दै यसले राष्ट्रिय आम्दानी र दिगो ऊर्जा विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, प्रतिस्पर्धी मूल्यमा भारतीय बजारमा ‘डे अहेड’ र ‘रियल टाइम’ प्रणालीमार्फत निर्यातले थप लाभ दिएको बताएका छन्।