बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भारतको उत्तराखण्डमा भीषण वर्षा र बाढी: बजार, होटल र आवासीय भवनहरू एकै झोक्कामा बगायो

बुधबार, साउन २१ २०८२

काठमाडौं ।  भारतको उत्तराखण्ड राज्यमा बादल फाटेपछि विभिन्न क्षेत्रमा म‌ंगलबार ठूलो जनधनको क्षति भएको छ।

उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार दिउँसो भीषण वर्षापछि खीरगंगा नदीमा आएको आकस्मिक बाढीले धराली बजारमा ठूलो विनाश मच्चाएको छ। समुन्द्री सतहदेखि ८,६०० फिटको उचाइमा रहेको यस पर्यटकीय स्थलमा बाढीको तीव्र प्रवाहले बजार, होटल र आवासीय भवनहरू क्षणभरमै बगाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यो घटनामा दर्जनौं मानिस बेपत्ता भएका छन् भने चार जनाको मृत्यु पनि पुष्टि भएको छ।

उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु भएको हो ।

उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले यस घटनामा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यसैबिच, एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार ४० देखि ५० घरहरू बगाएका छन् र ५० भन्दा बढी मानिसहरू बेपत्ता छन्।’

स्थानीय प्रशासनका अनुसार अकस्मात् आएको भारी वर्षाले साना खोला तथा नालाहरूमा बाढी आएको थियो, जसले पहाडी क्षेत्रमा ठूला पहिरो निम्त्यायो।

धेरै घरहरू बगाइसकिएको जनाइएको छ र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।

टेलिभिजन फुटेजमा हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठूलो विनाश गरिरहेको देखिएको छ।

प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ।

स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया पनि तीव्र पारिएको छ।

प्रशासनले आगामी दिनमा अझ भारी वर्षा हुनसक्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।

पूरै क्षतिको मूल्याङ्कन भइरहेको छ र थप विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

विपत्तिपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग टेलिफोनमार्फत सम्पर्क गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा राहत तथा उद्धार कार्यको विवरणबारे छलफल भएको थियो।

मुख्यमन्त्री धामीले प्रधानमन्त्री मोदीलाई राज्य सरकार पूर्ण तत्परताका साथ राहत तथा उद्धार कार्यमा जुटिरहेको जानकारी दिएका थिए। उनका अनुसार लगातार भइरहेको भारी वर्षाका कारण केही क्षेत्रमा कठिनाइँ उत्पन्न भए पनि सबै सम्बन्धित निकायहरू समन्वयमा रही कार्य गरिरहेका छन् ताकि प्रभावित नागरिकलाई यथासिघ्र सहायता पुगोस्।

प्रधानमन्त्री मोदीले केन्द्र सरकारको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् ।

भिडियो सामाजिक सञ्जालबाट