बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ट्रम्पले दिए रूस नजिक दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश

शनिबार, साउन १७ २०८२

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइलाई गम्भीर रुपमा लिँदै रूस नजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्।

मेदभेदेभका भड्काउ टिप्पणीप्रति प्रतिक्रिया दिँदै ट्रम्पले ती भनाइहरूलाई “मूर्खतापूर्ण र सम्भावित खतरनाक” भन्दै केवल शब्दमा सीमित नहुन सक्ने आशंका व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत ट्रम्पले भने, “शब्दहरू धेरै महत्वपूर्ण हुन्छन् र त्यसले अप्रत्याशित परिणाम ल्याउन सक्छ। मलाई आशा छ, त्यो स्थिति आउँदैन। तर जब कुरा परमाणुमा पुग्छ, हामी तयार हुनुपर्छ—र हामी पूर्ण रूपमा तयार छौँ।”

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफूले दिएको आदेश ‘तयारीको अभ्यास’ भएको दाबी गरेका छन्।

यद्यपि, मेदभेदेभले के भनेका थिए भन्ने विवरण सार्वजनिक गरिएको छैन। तर पछिल्लो समय ट्रम्प र मेदभेदेभबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहेको छ, जसले दुवै पक्षबीचको तनावलाई चुल्याएको देखिन्छ।

ट्रम्पको यस्तो निर्णयले रूस–अमेरिका सम्बन्धमा थप तनाव सिर्जना गर्ने आँकलन गरिएको छ। विश्लेषकहरूका अनुसार यो कदम केवल सन्देशमूलक हो या संभावित सैन्य तयारी—भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने छ।