काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले आफूलाई कुनै कारण पनि पार्टी सदस्यबाट बञ्चित गर्न नसक्ने जिकिर गरेकी छिन् ।
शुक्रबार राजधानीस्थित कार्की ब्याङ्केटमा विशेष पत्रकार सम्मेलन गर्दै भण्डारीले यस्तो जिकिर गरेकी हुन् ।
‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,’ उनले भनिन्। पूर्वराष्ट्रपति भण्डारीले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताइन् ।
‘त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले विधिपूर्वक नै आफूले एमालेको सदस्यता नवीकरण गरेर राजनीतिमा होमिन खोजेको प्रस्ट्याईन्।
एमालेको केन्द्रीय कमिटीको बैठकमा आफ्नो सदस्यताबारे छलफल भएको सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताइन्।