काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले निजामति विधेयकमा संशोधनको विषयमा सांसदहरुलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो बताएका हुन् । उनले सत्तारुढ दल नेपाली काँग्रेसकै सांसदहरुले फरक संशोधन राखेको भन्दै प्रश्न उठाएको उल्लेख गर्दै उनीहरुमा विधायिकी ज्ञानको कमि रहेको बताए ।
उनले काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामति विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न पनि सुझाए । बर्तौलाले कानून निर्माण प्रक्रियामा पार्टीको ह्वीप नलाग्ने भएको कारण सांसदको स्वतन्त्र अधिकार भएको बताए ।
केही दिन अघि कांग्रेस महामन्त्री शर्माले एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका थिए ।
एमालेले राष्ट्रिय सभाबाट कुलिङ पिरियड हटाउने प्रयास गर्दै आएकोप्रति उनले आपत्ति जनाए। सो प्रयासले राजनीतिक ‘दुर्घटना’ निम्त्याउने चेतावनी दिएका थिए।
प्रतिनिधि सभाबाट पास भएको संघीय निजामति सेवा विधेयक अहिले विधायन व्यवस्थापन समितिमा पुगेको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडको व्यवस्था खारेज गर्न एमाले सांसदहरुले संशोधन हालेका छन् ।