आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

घुस लेनदेन अडियो प्रकरण

निवर्तमान मन्त्री गुप्ता र विचौलिया लामाको ‘भ्वाइस टेस्ट’ पछि पूर्वमन्त्री रञ्जितामाथि अख्तियारको छानविन

बिहिबार, साउन ८ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ‘भ्वाइस टेस्ट’ लिएको छ ।

घुस लेनदेन गरेको अडियोसहित उजुरी परेपछि आयोगले मंगलबार निवर्तमान मन्त्री गुप्ता र विचौलिया भनिएका सुजन लामाको ‘भ्वाइस टेस्ट’ लिएको हो ।

पोखराको जग्गा विवाद तथा भूमि आयोगको कास्की अध्यक्ष नियुक्तिका लागि तत्कालीन संघीय मामला मन्त्री गुप्ता र लामाबीच घुस लेनदेन भएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सक्कली रहेको पुष्टि भइसकेको छ ।

गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।

बयान लिने क्रममै बुधबार अख्तियारले पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग आयोगको कार्यालयमै बयान लिएको छ । अख्तियारले बयानका लागि बोलाएपछि पूर्वमन्त्री श्रेष्ठ अख्तियारमा पुगेकी थिइन् ।

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता र बिचौलिया लामाबीच भएको घुस ‘डिल’ प्रकरणमाथि आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको भन्दै बयानका लागि बोलाएको हो ।

अख्तियार स्रोतका अनुसार श्रेष्ठको ‘भ्वाइस टेस्ट’ पनि लिइँदै छ । घुस प्रकरणमा सार्वजनिक भएको अडियोसँग मेल खान्छ कि खाँदैन ? भन्ने जाँच गर्नलाई उनको ‘भ्वाइस टेस्ट’ लिइने भएको हो ।

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घुस ‘डिल’को अडियो केही दिनअघि सार्वजनिक भएको थियो । उक्त प्रकरणमा पूर्वमन्त्री गुप्ता र श्रेष्ठसँग घुस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबारबाट बयान थालेको छ ।

केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँदा सक्कली पुष्टि भएको अख्तियारका एक अधिकारीले जानकारी दिए । त्यसैले दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ ।

पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन ? भनेर दोहोरो परीक्षणका लागि बोलाइएको अख्तियारको भनाइ छ ।

अख्तियार स्रोतका अनुसार, सामान्य प्रशासनमन्त्री गुप्ता, भूमिसुधार मन्त्री भइसकेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्रीलाई पैसा बुझाउने पोखराका ती व्यक्ति बीच निरन्तर सम्पर्क भएको खुलेको हो ।

प्रमाणको रूपमा घुस लेनदेन भएको अडियो, घुसस्वरूप दिएको रकमको नोटको सिरियल नम्बर, तस्वीर आदि बुझाइएको छ ।

अडियो सार्वजनिक भएको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

गुप्ताले आफूले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन् । अडियो पनि आफ्नो नभएको उनको जिकिर छ ।

तर, प्रधानमन्त्री ओलीसँगको भेटमा भने उनले बिचौलियाले पैसाको पोको आफ्नो क्वार्टरमा छाडेर गएको भनेर स्वीकारेको सार्वजनिक भइसकेको छ ।