काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा नयाँ सङ्कल्पका लागि आह्वान गरेका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमाले केन्द्रीय कमिटीको निर्णयपछि नेता थापाले सामाजिक सञ्जालबाट यस्तो आह्वान गरेका हुन् ।
उनले पार्टीभित्र देखिएको घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवाद (जबज)का मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्पका लागि आग्रह गरेका हुन् ।
थापाले लेखेका छन्, ‘घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौ । स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौ । हरेक विबेकशित एमाले कार्यकर्तासंग हार्दिक अपिल गर्दछु ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ ।
मंगलवार (साउन ६ गते) मध्यराति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले राष्ट्रिय एकता र गणतन्त्रको प्रतिकका रुपमा रहेको तथा राष्ट्रिय गौरवको व्यक्तित्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको हो ।
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा यसले गणतन्त्र, स्थापित प्रणाली र संविधानमा असर पर्ने एमालेको निष्कर्ष छ ।
पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतिकका रुपमा सबैले सम्मान गरेको स्पष्ट पार्दै एमालेले त्यो सम्मान कायम राख्न भण्डारीलाई आग्रह पनि गरेको छ ।
एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई नेपालको संविधानको धारा ६१ बारे पनि स्मरण गराएको छ ।
भण्डारीलाई एमालेले मात्रै नभएर सबै दलले एकताको प्रतिकका रुपमा सम्मान गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराईले पनि उनलाई सम्मान गरिसकेको स्पष्ट पार्दै राष्ट्रिय एकताको प्रतिक एउटा दलमा आवद्ध हुनेकुरा अमान्य रहेको एमालेले बताएको छ ।