काठमाडौँ । नेपाली कांग्रेसका ७ जना पूर्वपदाधिकारीहरूले संविधानको सफल कार्यान्वयनका लागि आवश्यक विषयमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा पार्टीका सात पूर्वपदाधिकारीबीच साेमबार भएको बैठकले संविधान संशोधनका लागि सुझाव दिएको हो ।
बैठकमा वर्तमान सरकार गठन हुँदा कांग्रेस र नेकपा (एमाले) बीच भएको संविधान संशोधनको समझदारीलाई अघि बढाउनुपर्ने विषयमा छलफल भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए।
यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने गरी कांग्रेसले बहस चलाउनुपर्ने विषयमा समेत छलफल भएको उनले बताए ।
यसैगरी सरकारले गठबन्धनको भावनाअनुसार थप प्रभावकारी रूपमा जनताका पक्षमा काम गर्नुपर्ने विषयमा छलफल भएको पनि नेता सिटौलाले बताए । बैठकले काँग्रेस–एमाले गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने र विश्वासका साथ अघि बढ्नुपर्ने निष्कर्ष निकालेकाे छ । यस्तै गठबन्धन समयमा सहमति भएका संविधान संशोधन कार्यान्वयन प्रक्रियामा ढिलाइ भएको र यसलाई अब अघि बढाउनु पर्ने बैठकले निष्कर्ष निकालेको छ ।
कांँग्रेसमा संस्थापन इतर शेखर कोइराला पक्ष सरकार ढाल्ने रणनीति बुन्दै गर्दा संस्थापन पक्षमा मानिने सात भाइको बैठकले काँग्रेस–एमाले गठबन्धनको स्थायित्व सुनिश्चित गर्नेसम्बन्धी दृढ विश्वास देखायो।
बैठकमा उपप्रधानमन्त्री सिंह, नेताहरू सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला र डा प्रकाशशरण महत उपस्थित थिए ।