काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बोलाएको छ ।
असुली धन्दा चलाउँदा चलाउँदै अडियो बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राजीनामा दिएका गुप्तालाई ’भ्वाइस टेस्ट’ का लागि अख्तियारले बोलाएको हो ।
घुस लेनदेन गरेको अडियोसहित परेको उजुरीउपर विस्तृत छानबिनका क्रममा गुप्तालाई बोलाइएको अख्तियार स्रोतले बतायो ।
अडियो प्रकरणमा छानविनका लागि अख्तियारले पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताको ’भ्वाइस टेस्ट’ गर्न यही साउन ६ गते मंगलबारका दिन उपस्थित हुन भन्दै बोलाएको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय पोखराको प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि घुस लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।