बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अध्यक्ष ओलीलाई भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी

आइतबार, साउन ४ २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नका लागि पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछिन्।

दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

विश्वस्त स्रोतका अनुसार, भण्डारीले ओलीसँग पछिल्लो राजनीतिक परिदृश्यबारे छलफल गर्नेछिन्।

पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै गरेकी भण्डारीको यो भेटलाई राजनीतिक सन्देशवाहक भेटको रूपमा हेरिएको छ।

एमालेको पोलिटब्युरो बैठकमा हिजो भण्डारीको एमाले पार्टी सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो।

यसैबीच एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण ‘पेण्डिङ’मा राख्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकमा एमाले राजनीतिमा सक्रिय हुने घोषणा गरेकी भण्डारीको विषयमा छलफल भएको थियो ।

बैठकमा अधिकांश नेताहरुले पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा फर्कन कानूनले नरोके पनि गणतन्त्रमाथि नै प्रश्न उठ्ने भन्दै रोक्न माग गरेका थिए ।

बहुमत नेताहरु सदस्यता नविकरण गर्न नमिल्ने लाइनमा उभिएपछि रोक्का राखिएको एमालेले जनाएको छ। उक्त बैठकमा नेताहरुले विवाद मिलाउन अध्यक्ष ओलीलाई जिम्मा दिएका थिए। त्यहीबारे छलफल गर्न ओली र भण्डारीबीच भेटवार्ता हुने भएको हो।