काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान संयोजक वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा समाहित भएका छन्।
राष्ट्रियसभामा शुक्रबार आयोजित एकतासभामा अभियानका संयोजक गौतमसहित सम्पूर्ण कमिटी समाहित भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गौतमलाई पार्टीमा स्वागत गरेका थिए । गौतमलाई अंगालो हालेर नेपालले पार्टीमा स्वागत गरेका थिए ।
उनले पार्टीमा नेपाल र खनालपछिको वरीयता पाउने सहमति भएको छ । पार्टी एकता घोषणा कार्यक्रममा गौतमले शक्ति आर्जन गरेर नेकपा एसमा प्रवेश गरेको बताए । ‘मैले आजसम्म आँटेका काममा असफलता हासिल गरेको छैन । काम गर्ने जिम्मा चाहियो पद चाहिएन, मैले रात(दिन काम गर्छु । त्यो सीप क्षमता प्रदान गरेर बिदा हुने हो,’ गौतमले भने, ‘तपाईंहरू कसैको जिम्मेवारी खोस्दिन आएको होइन ।’
गौतमले आफू नेकपा एसमा प्रवेश गरेसँगै कम्युनिष्ट आन्दोलनले गति पाउने दाबी गरे । विभाजन भएको चार वर्षपछि फेरि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा ज्यादै खुसी भएको उनले जिकिर गरे । ‘म एसएलसी मात्र पास गरेको मान्छे हो । त्यही पनि थर्ड डिभिजनमा बल्लतल्ल पास गरेँ । अहिले ७७ वर्षको भएँ । सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्ष कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउँछु’, उनले भने, ‘दुईवटा संकल्प लिएर म कम्युनिष्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिष्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पास भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ ।’
विसं २०७७ मा तत्कालीन नेकपा (एमाले) बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफल भएको थियो ।