आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाललाई ऐतिहासिक सफलता

श्रेयसले जिताए व्रोन्ज, आयामद्वारा अनरेबल मेन्सन

शनिबार, साउन ३ २०८२

काठमाडाैं | अस्ट्रेलियाको सनसाइन कोस्टमा जुलाई १० देखि २० सम्म सम्पन्न ६६औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (IMO)–२०२५ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ।

विश्वभरिका ११२ देशका प्रतिनिधिहरू सम्मिलित प्रतियोगितामा काठमाडौंका श्रेयस शर्मा बास्तोलाले ब्रॉन्ज मेडल जित्दै नेपालको पहिलो पदक जित्ने कीर्तिमान बनाएका छन् भने ललितपुरका आयाम आचार्यले “अनरेबल मेन्सन” प्राप्त गरेका छन्।

यसअघि नेपालबाट सर्वाधिक १६ अंक प्राप्त गर्ने स्वीकृति आचार्यको कीर्तिमान तोड्दै बास्तोलाले २० अंकसहित कास्य पदक जितेका हुन्। प्रतियोगितामा बाराका द्रोण चौधरी, बर्दियाका आयुस ठगुन्ना, मोरङका नमन महेश्वरी, र धनुषाका आशिष मिश्रले पनि उल्लेखनीय अंक प्राप्त गरे।

नेपाल गणित संघ (Mathematical Association of Nepal – MAN) का महासचिव छबि ढुङ्गानाका अनुसार, नेपालले सन् २०१७ मा ब्राजिलमा पहिलोपटक सहभागिता जनाएपछि ९ वर्षमै ऐतिहासिक सफलता हात पारेको हो।

विद्यार्थी छनौट प्रक्रिया र तयारी
प्रतियोगितामा सहभागी ६ विद्यार्थीहरू दशौं कक्षा उत्तीर्णपछि करिब २३०० बढी प्रतिस्पर्धीहरूमध्येबाट विद्यालय, जिल्ला र प्रदेशस्तरीय चरण पार गर्दै केन्द्रीय चरणमा छनोट भएका थिए। छनोटपश्चात ६० घण्टाभन्दा बढीको गहन तालिम दिइएको थियो।

कन्ट्री डिपुटी लिडर नारायण पौडेल का अनुसार, यो तयारी प्रक्रियाले नेपालको प्रतिस्पर्धात्मक क्षमतामा गुणात्मक सुधार ल्याएको हो।

संघ, प्रशिक्षक र नेतृत्व टोलीको सक्रियता
नेपाली टोलीमा राष्ट्रिय प्रशिक्षक प्रजित अधिकारी, प्रशिक्षक हरिशरण पण्डित, र संघका उपाध्यक्ष हरि प्रपन्न कँडेल सहितको समूह सक्रिय रहेको थियो। प्रशिक्षक पण्डितले भने, “आगामी वर्ष चीनको साङ्घाईमा हुने ६७औं IMO का लागि तयारी हालैबाट थालिएको छ।”

संघका अध्यक्ष डा. विनोद प्रसाद पन्तले भने, “नेपालमा गणित शिक्षा र प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताको भूमिका निर्णायक छ। प्रारम्भदेखि नै गणितज्ञ भद्रमान तुलाधरको योगदान उल्लेखनीय रह्यो।”

प्रतियोगिताको विशेषता
२० वर्ष मुनिका र स्नातकमा भर्ना नभएका विद्यार्थी मात्र सहभागी हुन सक्छन्।

दुई दिनसम्म चल्ने प्रतियोगितामा प्रत्येक दिन ३ वटा प्रश्न (जम्मा ६) सोधिन्छ।

प्रत्येक प्रश्नको पूर्णाङ्क ७ अंक, जम्मा ४२ अंक हुन्छ।

शीर्ष प्रतिस्पर्धीलाई स्वर्ण, रजत, कास्य र अनरेबल मेन्सन प्रदान गरिन्छ।

हालसम्म नेपालका ९ विद्यार्थीले पुरस्कार प्राप्त गरिसकेका छन्।

भविष्य योजनाहरू
संघका अनुसार आगामी वर्ष चीन, ईरान, तुर्कमेनिस्तान, ताइवान, हङकङ लगायतका मुलुकहरूमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहनेछ।

प्रतियोगिता छनोटको पहिलो चरणको परीक्षा आगामी भाद्रको दोस्रो सातादेखि देशभर सञ्चालन गरिनेछ। सफल विद्यार्थीहरूलाई विदेशी विश्वविद्यालयमा छात्रवृत्तिको अवसर समेत उपलब्ध गराइनेछ।

प्रतियोगितामा सहभागी टोली जुलाई २३ मा नेपाल फर्कने कार्यक्रम तय गरिएको छ।