काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई सार्वजनिक रूपमै आग्रह गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै पोखरेलले सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल भएको उल्लेख गर्दै पोलिटब्युरो र केन्द्रीय समितिमा पनि परिमार्जन गर्नेगरी छलफल गर्न आग्रह गरेका हुन् ।
‘पार्टीको बिधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गंभीरताका साथ छलफल गरियो । आज पोलिटब्यूरो सदस्यहरूका विचमा छलफल हुनेछ ! पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !’ उनले लेखेका छन् ।
एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १० घण्टा चलेकाे थियाे ।
उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको नयाँ विधानको प्रस्तावित मस्यौदामा पदाधिकारी र केन्द्रीय कमिटी घटाउने निर्णय गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतापछि बढेको एमालेमा चर्चामा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाउने निर्णय भइसकेको छ ।