काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सक्रियता बढाएका छन् ।
हिजो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार पुगेर दुई घण्टा लामो भेटवार्ता गरेका शेखरले आज विहानै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
भण्डारीलाई भेट्न शेखर उनको निवास बुढानिलकण्ठ नगरपालिका भंगालमा पुगेका थिए । पूर्व राष्ट्रपति भण्डारी र नेता कोइरालाबीच एक घण्टा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताईन्छ ।
भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको कोइराला सचिवालयले जनाएको छ ।
शेखरसँगको भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आएको भन्दै सहयोगको अपेक्षा गरिन् ।
प्रचण्डसँगको भेटमा भने शेखरले सरकार ठीक ढंगले नचलेको र जनताको आक्रोश चुलिँदो रहेको बताएका थिए ।
मन्त्रीहरु घुस डिल र भ्रष्टाचारमा डुबेको, सुशासनको प्रत्याभूति दिलाउन नसकेको र अर्थतन्त्रको अवस्थामा पनि चिन्ताजनक रहेको शेखरको भनाई थियो ।