काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नहुने र श्रमिकको सम्मान बिना समृद्धि सम्भव नहुने बताएका छन् ।
साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौं। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्।’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्-
विहीबार नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ ।
श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिक न्यूनतम पारिश्रमिक रु १७ हजार ३०० थियो ।
अबदेखि लागू हुने गरी भएको सहमतिअनुसार मासिक आधारभूत पारिश्रमिक रु १२ हजार १७० र महङ्गी भत्ता रु सात हजार ३८० हुनेछ । मन्त्रालयका अनुसार श्रमिकले दैनिक आधारभूत पारिश्रमिक रु ४७० र महङ्गी भत्ता रु २८४ प्राप्त गर्नेछन् भने प्रतिघण्टा आधारभूत पारिश्रमिकरु ६३ र महङ्गी भत्ता रु ३८ हुनेछ । आंशिक समयमा मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक रु १०७ हुने सहमति भएको छ ।
उक्त सहमति चिया बगानबाहेकमा श्रमिकको हकमा लागू हुने मन्त्रालयको भनाइ छ ।