काठमाडौं । टीयु क्रिकेट मैदानमा अहिले प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ ।
तोकिएको र थप भएको समयमा काम नसकिएपछि निर्माण कम्पनीले दैनिक २ लाख हर्जाना बुझाएर काम गरिरहेको छ ।
यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको बताएका छन् ।
तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्ने भन्दै प्रधानमन्त्रीले सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि ढिलासुस्ती भएका खण्डमा हर्जनालाई पालना गराउन लागेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाललमा लेख्दै प्रधानमन्त्रीले भनेका छन्:
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ। तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ । सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं।