काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ।
समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको हाे ।
सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।
प्यारापिट बनाउन ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो ।
यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइएको थियो। मंगलबारदेखि दैनिक हर्जना तिरेर काम भइरहेको छ। काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ ।
यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके कालोसूचीमा राख्ने व्यवस्था छ ।
निर्माण कम्पनीले १ महिनामा काम सक्ने प्रतिवद्धता जनाएको छ। चार हजार कुर्सि फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ। प्यारापिटतर्फ वित्तिय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तिय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ।