आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

'घुस डील' प्रकरण

अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरिहाल्नुपर्छ : सूर्य थापा

'मन्त्रीको राजीनामा फासफुस हुन/गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो'

बुधबार, असार ३२ २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् ।

थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरता मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको उल्लेख गर्दै विवादास्पद अडियोको आवाजमा को को संलग्न छन् ? अविलम्ब छानबिन गर्नुपर्ने बताए ।

‘विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो।’ उनले लेखेका छन् ।

‘मन्त्रीबाट राजकुमार गुप्ताले राजिनामा दिनुको अर्थ यस विषयको गंभीरतालाई मध्यनजर गरी गंभीर छानवीन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ। यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? वास्तविक आवाज हो कि प्रविधिको कमाल ? उनले भनेका छन्, ‘राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानवीन गरी दुधको दुध/ पानीको पानी छुट्याउनु पर्छ।’

दोषी ठहरिएमा कसैले उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले झोसपोलवाला, बिचौलिया धन्धाकर्मी, भ्रष्ट र ठगहरू जो कोहीलाई छानबिनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।