काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच सोमबार साँझ छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए ।
राति डेढ घन्टासम्म बालुवाटारमा चलेको बैठकमा भूमि विधेयक पारित गर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री ओलीले अब विधेयक ढिलो गर्दा नकारात्मक सन्देश जाने भन्दै यादवलाई प्रतिपक्षी भूमिका नखेल्न आग्रह गरेका थिए ।
यादवले विधेयक पारित गर्न न्यूनतम सहमतिको विन्दु खोज्नुपर्ने शर्त राखेको बुझिएको छ ।
ओलीले यादवलाई भने, ‘विधेयकलाई देखाएर दलहरुबीच खेल्न खोज्ने क्रम बढ्यो । तपाईं जिम्मेवार भइदिँदा यो खेलकुद रोकिन्छ ।’
जवाफमा यादवले भने अहिले पनि सत्तापक्ष पेलेरै विधेयक लैजाने मनसायमा रहेकाले आफू त्यसका लागि तयार नरहेको बताएका थिए ।
उनले बैठकमा विधेयकमा आफ्नो दलका मूल असहमति कायमै रहकाे बताउँदै सहमतिको विन्दु खोज्न तयार तर अडान नछाडेकाे बुझिएको छ ।
उनीसँग सत्ता सहकार्यको सम्भावनाबारे समेत बैठकमा कुरा उठेको बुझिएको छ ।