आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सामान्य प्रशासन मन्त्री गुप्ताको ‘घुस डिल’, एक्सन लिने तयारीमा प्रधानमन्त्री

सोमबार, असार ३० २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस ‘डिल’ गरेको अडियो बाहिरिएसँगै यसले राजनीतिमा तरंग उत्पन्न गरेको छ ।

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ ।

मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि पोलेका छन् ।

मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री र सरकारको चौतर्फी आलोचना भएको छ। आलोचना थेग्न नसक्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई हटाउने तयारी गरेका छन्।

यता मन्त्री गुप्ताले भने घुस डिलबारे इन्कारी अभिव्यक्ति दिँदै आएका छन् । प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा उनले आफूले त्यो प्रकारको डिल नगरेको र केही मिडिया तथा सरकार विरोधी विचौलियाले हुँदै नभएको काम भएको भनि दुष्प्रचार गरेको दाबी गर्दै आएका छन् ।  अन्तर्वार्तामा उनले घुस डिलबारे आएका समाचारमा सत्यता नभएको बताउँदै यति कसैले यो सत्य सावित गरे आफू जस्तो सुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘केही दिन अघिदेखि म संग जोडिएर सिलसिले बार रुपमा सरुवा, नियुक्ति लगायतमा घुस बार्गेनिङ, रकम लिएको जस्ता प्रायोजित समाचारहरु केही मिडियाहरुमा आएका छन् जुन मेरो लागि गम्भीर छन् ।’

मन्त्री गुप्ताको ‘घुसकाण्ड’ प्रतिनिसभामा प्रवेश गरेको छ। जहाँ सत्ता पक्ष र प्रतिपक्षका सांसदले यो विषयमा आवाज उठाएका छन्।

बैठकमा उनीहरूले मन्त्री गुप्ताको राजीनामासहित कारबाहीको मागसमेत गरे।

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओली संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रणलगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेका थिए। तर सरकारका मन्त्रीले नै घुस डिल गरेको अडियो सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन् ।

घुस प्रकरणमा जोडिएका गुप्ताको अडियोबारे प्रधानमन्त्रीको सचिवालयले बुझेर विफ्रङ गरिसकेकाले उनलाई एक्सन लिने तयारी भएको स्रोतको दाबी छ ।

अहिले विवादमा तानिएका मन्त्री गुप्तामात्रै नभएर मन्त्री अधिकारीपनि रेड जोनमा परेको चर्चा छ । प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल गर्ने र यस सम्बन्धमा सत्ता सहयात्री दल नेपाली कांग्रेसको पनि राय लिएर थप कदम चाल्ने भनिएको छ ।