बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

उजुरी लिएर निर्वाचन आयोग पुगे नवराज सुवेदी

आइतबार, असार २९ २०८२

काठमाडौं । राप्रपाले अनुशासन समितिको अध्यक्षबाट हटाएको भन्दै वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

आइतबार निर्वाचन आयोग पुगेर सुवेदीले आफूलाई अनुशासन समितिको अध्यक्षबाट थाहा नै नदिई हटाइएको भन्दै उजुरी दर्ता गराएका हुन् । नवराजसँगै राप्रपाका महामन्त्री डा धवलशमशेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।

शनिबार भएको छुट्टै भेलाको निर्णय अनुसार संस्थापनइतर समूह निर्वाचन आयोग पुगेको हो।

भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो।

उनीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् ।

केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।

सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । तर उनले राप्रपामा लिखित राजीनामा भने नबुझाएको बुझिएको छ ।

उक्त निर्णयलाई राणा समूहले अवैधानिक भन्दै आएको छ ।