काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्।
प्रधानमन्त्री ओली आज र भोलि झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।
उनी आज बिहान ११ः३५ बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल पुग्ने कार्यक्रम रहेको जनाइएको छ।
उनले आज दिउँसो १२ बजे झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन्। त्यसपछि बुद्धशान्तिबाट इलाम जाने छन् । उनले इलामको माई नगरपालिका-२ मा नगर अस्पताल उद्घाटन, सुकुम्वासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो ४:४५ बजे कनकाई नगरपालिका-३ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ।
भाेलि बिहान १० बजे प्रधानमन्त्रीले दमक-२ स्थित कृष्ण मन्दिर खण्डबाट उत्तर मदनडाँगी ताराबारी डिपो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
भोलि बिहान साढे ११ बजे हुलाकी राजमार्गमा निर्मित रतुवा खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
भोलि नै दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम सहभागी भए पश्चात् काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।