काठमाडौं । ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिको आठौँ निर्वाण महोत्सवको अवसरमा त्रिशक्ति एकादशी संस्कृति समाज र घरघरमा गुरुकुल अभियानको आयोजनामा सामूहिक श्रीशिवमहिम्नःस्तोत्र पाठ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा २ सयभन्दा बढी महिलाहरुले सामूहिक स्तोत्र पाठ गरेका थिए भने, आयोजकका अनुसार कुल ३५० जनाभन्दा बढी श्रद्धालु सहभागी थिए।
स्वामी रमणानन्द गिरिले पाशुपत क्षेत्रको महत्व र भगवान् शङ्करको अष्टमूर्तिको दार्शनिक पक्षबारे चर्चा गर्दै संस्कार र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रममा विशेष योगदान हुने बताए।
उपप्राध्यापक कमल सुवेदीले शिवमहिम्नःस्तोत्र र श्रीविष्णुसहस्रनामको नियमित पाठ गृहस्थ जीवनमा आवश्यक रहेको स्पष्ट पारे।
रामप्रसाद भण्डारीले सच्चा भक्तिको महिमा उजागर गर्नुभयो भने, प्राध्यापक भवानीप्रसाद खतिवडाले आचार्य कपिलदेव सुवेदीद्वारा सञ्चालित अभियन्ता संस्थाहरूले संस्कृत भाषा र आध्यात्मिक चेतना फैलाउने उल्लेख गरे।
आचार्य कपिलदेव सुवेदीले घरघरमा गुरुकुल अभियानको उद्देश्य करदर्शनदेखि ब्रह्मदर्शनसम्मको यात्रा रहेको बताउनुभयो।
कार्यक्रमकी सभापति रीता पाण्डेले श्रीशिवमहिम्नःस्तोत्रको महत्व माथि जोड दिइन्। संयोजक मायानाथ सिलवालले श्रद्धालुहरूको सक्रिय सहभागिता र कार्यक्रमको सफलतामा जोड दिएका थिए ।
सामूहिक स्तोत्र पाठजस्ता कार्यक्रमहरूले महिलाको धार्मिक सहभागिता, संस्कृतिको जगेर्ना, र संस्कृत भाषाको प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्।