आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेसका १८ नेतामाथि कारबाही, पूर्वमन्त्री, प्रदेशका महामन्त्री र जिल्ला सभापति पार्टी सदस्यबाट निष्कासित

शेखरले डाके इतरसमूहको बैठक

बिहिबार, असार २६ २०८२

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले २०७९ को चुनावमा आफ्नै उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहितका नेतालाई कारबाही गरेको छ ।

समितिले कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तासमेतलाई एक वर्षसम्म कांग्रेसको सदस्यबाट निष्कासन गरेको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले अनुशासनको कारबाही गरेको हो ।

केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको अनुशासन समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन् ।

पाँच सदस्यीय समितिमा ढुंगाना सहित केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले संस्थापन पक्षका हुन् ।

समितिमा संस्थापनइतरबाट सञ्जयकुमार गौतम र राजीव कोइराला सदस्य छन् ।

यसैबीच डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई निष्कासन गरिएको छ भने अधिकांशलाई निलम्बन गरिएको छ। कारबाहीमा परेका अधिकांश शेखर निकटका नेताहरू छन् ।

कारबाही गर्दा समयावधिमा तीन प्रकृतिको छुट्याएर कारबाही गरिएको छ । एक वर्ष, छ महिना, तीन महिनाका लागि कारबाही गरिएको छ । उजुरी उपर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ प्राप्त नभएको कारण देखाउँदै पार्टीबाट निष्कासन गरिएको उल्लेख छ ।

अनुशासनको कारबाहीपछि कोइराला समूहको असन्तुष्टि

शेखर समूहले कारबाही प्रक्रिया निष्पक्ष नभएको, आफ्नो धारणा राख्ने अवसर नपाएको आरोप लगाउँदै आएको छ ।

गुटीय शक्ति सन्तुलनमा हस्तक्षेप भएको भन्दै कारबाहीले आन्तरिक शक्ति सन्तुलन डगमग्याउने हुँदा गम्भीर असर पार्ने इतरसमूहका नेताले बताएका छन् ।

लोकतान्त्रिक मूल्य विपरीत पार्टीभित्र बहस र आलोचनालाई दण्डको रूपमा बुझ्न थालिए लोकतान्त्रिक अभ्यास खतरामा पर्न सक्ने उनीहरुको तर्क छ ।

संस्थापन इतर समूहको बिमतिबीच बहुमतको आधार नेताहरूमाथि कारबाही गरेपछि डा शेखर कोइराला समूहले असन्तुष्टि जनाएको छ।  आफू निकट नेताहरूको बैठक आज बिहान बस्नेगरी बोलाएको एक नेताले बताए ।