काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै वैधानिक रूपमा पुष्टि हुन नसक्ने रकम आर्जन गरेका थिए ।
आयोगले अनुसन्धान गर्दा उनले आफ्नो सेवा अवधिभर आर्जन गरेको आय र व्यय विवरणमा उल्लेख्य अन्तर देखिएको भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो ।
उक्त समय अवधिमा पौडेलको ९ करोड ६६ लाख ८० हजार ६२० रूपैयाँ कमाएको देखिन्छ। त्यसमध्येमा उनको सेवा, सुविधा ऋणसहित ३ करोड ३९ लाख ८७ हजार ४९० रूपैयाँ मात्र आय गरेको प्रमाण भेटिएको छ। बाँकी रकमको स्रोत खुलेन।
बाँकी रकमको स्रोत पुष्टि गर्न नसकेकाले सार्वजनिक पदमा रहँदा आफ्नो पदीय हैसियतको दुरूपयोग गरी गरैकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
उनीविरूद्ध ६ करोड २६ हजार ९३ हजार १२९ रूपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरिएको छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पौडेलकी श्रीमती हुमाकुमारी उपाध्यायको नाममा समेत राखेको देखिएकाले उनीमाथि पनि मुद्दा चलाइएको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।