बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिजाे ओलीविरुद्ध बोल्दा ताली ठोक्ने हातहरु झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएका छन् : गोकुल बाँस्कोटा

बुधबार, असार २५ २०८२

काठमाडाैं  । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले  हिजो रामकुमारी झाँक्रीले अरूलाई गाली गर्दा ताली ठोक्नेहरू अहिले झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको भन्दै व्यङ्ग गरेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध बोलेका कुरालाई लिएर नेतृ झाँक्रीलाई उक्त पार्टीले सोधेको स्पष्टीकरणतर्फ सङ्केत गर्दै बाँस्काेटाले सामाजिक सञ्जालमा लेखेका छन् ‘जे रोप्यो त्यै फल्छ,प्रकृतिको नियम।’

उनले लेखेका छन्  ‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम। हिजो केपी ओली विरुद्ध राम कुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु।’

यसैबीच एकीकृत समाजवादीले नेतृ झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। समाजवादीको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो ।

लुम्बिनीको एक कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्लि महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने ? कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन मन्त्री, मुख्यसचिवसहित ९३ जनालाई सार्वजनिक जग्गा दुरुपयोग अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा काभ्रेको साँगा र महेन्द्रज्योतिमा हदबन्दी छुटमा किनिएको पाँच सय ५४ रोपनी पाँच आना एक दाम जग्गा मिलेमतोमा दुरुपयोग गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा हालिएको हो।

आफैँ विशेष अदालतमा उपस्थिति भएका उनलाई ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।